काठमाडौं - हाल आक्रामक व्यापारमा रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको यो गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।
चलचित्रका निर्देशक नवीन चौहानले गीतको रिलिज दर्शकको माग अनुसार गरिएको जानकारी दिए । उनका अनुसार, चलचित्रका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको हो । गीतमा सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले हलमा उल्लेखनीय व्यापार गरिरहेको छ । आइतबार तेस्रो दिनसम्म आइपुग्दा पनि दर्शकको उत्साह घटेको छैन । सोमवार सार्वजनिक बिदा भएकाले व्यापार अझ तीव्र हुने अपेक्षा गरिएको छ । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ का ट्रेलर, टिजर र गीतहरूले दर्शकको आकर्षण खिचिरहेका छन् । पहिलो दिनदेखि नै देखिएको दर्शकको उल्लेखनीय उपस्थिति चलचित्रको सफल यात्रा तर्फको सङ्केत गरिसकेको छ ।