चलचित्रमा डेब्यु गर्दै 'सक्किगोनि' बाट चर्चामा आएकी सुरक्षा ‘सुरु’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४६८ दिन अगाडि
चलचित्रमा  डेब्यु गर्दै 'सक्किगोनि' बाट चर्चामा आएकी सुरक्षा ‘सुरु’

काठमाडौ - लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनी’ मार्फत दर्शकमाझ चिनिएकी कलाकार सुरक्षा इटनी अब ठूला पर्दामा पदार्पण गर्दैछिन्। उनी चलचित्र ‘द ब्लु लाइट’ मार्फत पहिलो पटक चलचित्रमा डेब्यु गर्ने भएकी छन्।

फिल्ममा जोडिएसँगै उनले अभिनयका लागि उत्साहित रहेको बताइन्। 'यो मेरो लागि निकै ठूलो अवसर हो। निकै खुसी छु,' उनले भनिन्, 'मेरो कलाकारिताको यात्रामा एक नयाँ अध्याय हो। फिल्ममार्फत आफूलाई फरक रूपमा प्रस्तुत गर्न पाउने भएकाले अत्यन्त खुसी लागेको छ।' 'द ब्लु लाइट' लाई बलिराम चौहानले निर्देशन गर्दैछन्। उनी अहिलेको प्रतीक्षित फिल्म 'बलिदान' का लेखक तथा मुख्य सहायक निर्देशक हुन्।मंगलबार मात्रै शुभमुहूर्त गरिएको यो फिल्मको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटनी, ग्रिष्मा कटुवाल, सहारा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ। 

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो।फिल्मको सह-निर्मातामा रमन ग्रे छन्। बिहीबारदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म नरेन्द्र मैनालीले खिच्नेछन्। सुरक्षा 'सक्किगोनि' मा हरिश निरौला (कक्रोज)को जोडीका रूपमा देखिँदै आएकी थिइन्। अहिले भने यो सिरियल प्रसारणमा छैन। सिरियल रोकिए पनि सुरक्षा म्युजिक भिडिओ मोडलिङमा व्यस्त छिन्। उनले ४० भन्दा बढी म्युजिक भिडिओमा मोडलिङ गरिसकेकी छन्।