काठमाडाैं - नेपाली सिनेमाको इतिहासमा पहिलोपटक नेपाली चलचित्र बंगलादेशका हलमा प्रदर्शन भएको छ ।
चर्चित टेलिसिरियल ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ बंगलादेशमा प्रदर्शन हुने पहिलो नेपाली सिनेमा बनेको हो ।अघिल्लो वर्षको माघ ११ गते नेपालमा प्रदर्शन भएको ‘केटी हराएको सूचना’ शुक्रबार (आज)देखि बंगलादेशका मल्टिप्लेक्स हलहरूमा प्रदर्शनमा आएको छ ।‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार स्टार सिनेप्लेक्सको एयरपोर्ट शाखामा विशेष प्रिमियर शो आयोजना गरिएको थियो । उक्त प्रिमियर शोमा निर्देशक गौचन र चलचित्रका मुख्य अभिनेता नाजीर हुसेन उपस्थित थिए ।साथै, प्रिमियरमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी लगायत निर्माण टीम र त्यहाँ रहेका नेपालीहरुसहित ५ सय जनाको सहभागी थिए ।
बंगाली कम्पोजर तथा सिंगर जेफर लगायत चलचित्र निर्देशक तथा कलाकार, डाइरेक्टर र प्रोड्युरहरु पनि प्रिमियरमा सहभागिता थियो । अभिनेता नाजीर बुधबार नै ढाका पुगेका थिए भने शुक्रबार दर्शकको प्रतिक्रिया संकलन गरेर नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ ।बंगलादेशमा फिल्म शो मोसन लिमिटेड मार्फत साउथ एसियन फ्री ट्रेड एग्रिमेन्ट (साफ्टा) अन्तर्गत आयात गरिएको हो । यो चलचित्र नेपाली र अंग्रेजी दुबै सबटाइटलसहित प्रदर्शनमा आएको छ ।बंगलादेशको चर्चित मल्टिप्लेक्स चेन स्टार सिनेप्लेक्स अन्तर्गत ढाका लगायतका विभिन्न सहरका हलहरूमा ‘मिसिङः केटी हराएको सूचना’ लाई प्रदर्शन गरिएको निर्माण टीमले जनाएको छ ।
सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा देखाइएको यो चलचित्रमा नाजीर हुसेनसँगै सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी लगायत कलाकारको अभिनय रहेको छ ।निर्देशक दीपेन्द्र गौचन स्वयंले कथा लेखेका हुन् भने निर्माण पनि उनले नै गरेका छन् । अमितेष शाहको ‘गेस्ट अपियरेन्स’ समेत रहेको फिल्मले नेपालको ग्रामीण परिवेश, वर्गीय भेदभाव र सामाजिक द्वन्द्वको विषय उठान गरेको छ । यससँगै नेपाली फिल्म ‘केटी हराएको सूचना’ले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पाइला राख्दै नेपाल र बंगलादेशबीचको सांस्कृतिक आदानप्रदानलाई थप सघाएको छ । साफ्टा सम्झौताको आधारमा अब बंगलादेशी फिल्म ‘नो दोराई’ पनि नेपालमा प्रदर्शन गरिने सहमति भएको भ्यूज बंगलादेशले उल्लेख गरेको छ ।