काठमाडौं - असोज २७ गते,अाजको दिन नेपाली चलचित्र क्षेत्रको "कालो दिन" को रूपमा लिइन्छ। जनआस्था र त्यसका सम्पादक किशोर श्रेष्ठले पत्रकारिताको आवरणमा गरिएको अमर्यादित र गैरपत्रकारिताका कारण नेपाली सिनेमाको उदाउँदो नायिका श्रीषा कार्कीले आत्महत्या गरेको दिन हो । २०५९ साल असोज २३ गते बुधबार, जनआस्था साप्ताहिकले फ्रन्ट पेजमा "फिल्म नगरीको रंगीन रात" शीर्षकमा एउटा स्टोरी छाप्यो । जनआस्थाका पत्रकारद्वय विश्वमणि सुबेदी र यादव प्रसाद पौडेलले लेखेको उक्त स्टोरीमा नेपाली फिल्म क्षेत्रमा हुने गरेको लव अफेयर्स आदिको बारेमा खोज पत्रकारीता मार्फत खुलासा गरिदिएको जसरी लेखीएको थियो। जनआस्थामा यस्तो खबर छापिनु त्यतिबेला कुनै नौलो विषय थिएन। त्यतिबेला देखिनै किशोर श्रेष्ठ र जनआस्थाको पहिचान नै पत्रकारीताको माध्यमबाट ब्ल्याकमेलिङ गर्ने बनिसकेको थियो। जनआस्थाले यस्तो खबर बेला-बेला छापी रहन्थ्यो। सबै खबर सेलाएर जान्थे। किशोर श्रेष्ठबिरुद्ध कसैले प्रतिबाद गर्ने हिम्मत नै गर्दैन थिए।
किनभने किशोर श्रेष्ठको पहुँच ठुला राजनीतिक दलका शिर्ष नेताहरुसँग निकै नै राम्रो थियो। तर, श्रीषा कार्कीको आत्महत्याको खबर भने सजिलै सेलाएन।त्यतिबेलाको एकदमै चर्चित नायिका श्रीषा कार्कीको नग्न फोटोमा कल्पना नै गर्न नसकिने 'ह्युमिलेसन' र त्रासले भरिएका ति आँखाहरु प्रष्ट देख्न सकिन्थ्योv । जनआस्थामा छापिएको त्यही फोटो श्रीषाको करियर र रिलेशनसिपको मात्र होइन्, उनको जीवन नै अन्त्य हुनुको कारण बन्न पुग्यो। उक्त फोटो जनआस्थामा छापिएको ४ दिन नबित्दै आत्महत्या गरेकी श्रीषा कार्की त्यस्तो अवस्था सम्म कसरी पुगिन? उनलाई त्यो अवस्था सम्म पुर्याउन कस्को हात थियो? नायीका श्रीसा कार्की त्यतिबेला जम्मा २४ बर्षकि थिइन्। जतिबेला चलचित्र क्षेत्रमा भित्रीएको ६ बर्षमै उनले दुई दर्जन भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेकी थिइन् । सुन्दरता र क्षमता राम्रो भएकाले उनी स्टारको रुपमा स्थापित हुँदै थिइन। तर, जनआस्थाको एउटै समाचार र फोटोले उनको ६ बर्षको मेहनत मात्र होइन्, उनको पुरै जिन्दगी नै बर्बाद पारिदियो । आँखाभरी आँशु बोकेर कोहिसंग डराई रहे झैं जस्तो देखिने त्यो फोटो हेर्दा उनको पीडा झल्किएको प्रष्ट देखिन्छ। उनको फोटोको तल लेखिएको थियो। के तपाइँ यो नेपाली हिरोइन लाई चिन्नुहुन्छ ? त्यस समाचारमा श्रीषा कार्कीसँगै जल शाह, करिश्मा मानन्धर, निरुता सिंह, पुजा चन्द लगाएतका नेपाली फिल्म उद्योगका अरु थुप्रै नायिकाहरु पनि यो ब्यवसायमा लागेको र ५ देखि १० हजार रुपैयाँमा नै व्यापारी, प्रहारीका हाकिमहरु र उच्च ओहदाका मानिसहरुका लागि उपलब्ध हुने भनेर घिनलाग्दा आरोपहरु लगाइएको थियो। तर, ती कुनैपनी आरोपहरु प्रमाणित गर्ने तथ्य र प्रमाण समाचारमा कतै थिएन। आफ्नो कुरा प्रमाणित गर्न र हो जस्तो देखाउन पत्रीकाले श्रीषा कार्किको त्यो नग्न तस्बिर छापेको थियो। त्यसैले त्यो समाचारले अन्य नायीकाहरुलाई भन्दा श्रीषा कार्कीलाई सबैभन्दा बढी असर पार्यो। समाचार प्रकाशन भएको बेला श्रीषाको इङ्गेजमेन्ट पनि भइसकेको थियो। मंसिरमा बिहेको तयारी हुँदै थियो।
फोटो उनको हुनेवाला श्रीमानले देखेपछि श्रीषाले जति नै बुझाउन खोज्दापनी सकिनन्। अन्ततः उनिहरुको सम्बन्ध पनि टुट्यो। श्रीषाकी एक साथीका अनुसार, त्यतिबेला पनि श्रीषा जनआस्था पत्रीकाविरुद्ध कानुनी लडाई लड्ने मनस्थितिमा नै थिइन् । तर, उनलाई त्यतिबेला साथ दिनुपर्ने समाजले नै उनलाई साथ दिएनन्, उल्टै दोष दिए। नग्न तस्बिर सार्वजनिक भएको चौथो दिन अर्थात असोज २७ गते, उनी ब्युटिपार्लर जाँदा त्यहाँकी एक ब्युटिसियनले 'आज त फुल कपडामा आउनु भएछ त, बिना कपडामा नै हिड्ने बानी लागेको जस्तो लाग्दै थियो मलाई त' भनेर भनेकी थिईन्। त्यसपछि उनी उक्त पार्लरबाट दौड्दै निस्कीइन् र त्यसको केही घण्टापछि नै उनको मृत शरिर उनको घरमा भेटिएको थियो। श्रीषाको आत्महत्याको अनुसन्धान गर्दै गरेको प्रहरीले श्रीसाको त्यो फोटो खिचेको घर पत्ता लगाउँदा त्यो घर प्रहरीको जागिर छोडेर फोटो पत्रकार भएका उद्वव भण्डारीको कोई आफन्तको भएको पत्ता लागेको थियो। श्रीषाको परिवारका अनुसार, उनलाई भण्डारी र अर्को फिल्म डिरेक्टर मिलेर जबर्जस्ति नाङ्गो बनाई फोटो खिचेका थिए। हुन त श्रीसाको त्यो तस्बिर हेर्दा पनि जबर्जस्ति नै खिचेको भनेर प्रष्ट देखिन्छ। अनि श्रीसाले पनि शुरु मै उनिहरुले जबर्जस्ति आफ्नो फोटो खिचेको भनेर प्रहरीलाई उजुरी पनी दिएकी थिइन्। त्यतिबेला प्रहरीले कुनै चासो दिएन। त्यसपछि श्रीषा र उनका बुवाले फोटो सार्वजनिक नगर्नु भनेर डेढ बर्षसम्म अनुरोध गरेका थिए। तर, भण्डारीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई त्यो फोटो जिम्मा लगई सकेका थिए। भनिन्छ, त्यो फोटो जनआस्थामा छापिनु भन्दा डेढ बर्ष अगाडि नै खिचेको थियो। र फोटो खिचे देखी पत्रीकामा प्रकाशन नहुन्जेल सम्मको समय त्यही फोटो देखाएर उनीहरुले बारम्बार श्रीषालाई 'ब्ल्याकमेलिङ' गरिरहेका थिए। यो कुरा उनको इङ्गेजमेन्ट पछिसम्म पनि निरन्तर नै भईरह्यो । किशोर श्रेष्ठले भने श्रीषालाई त्यस्तो नराम्रो काम नगर्न भनेर बारम्बार सम्झाएको र उनले नसुनेपछि सहि बाटोमा ल्याउन यो कदम चालेको बयान दिएका थिए। भण्डारीले पनि आफुले उनलाई सुधार्नका लागि र नेपाली फिल्म उद्योगलाई सफा राख्नका लागी श्रीषालाई ८ हजार रुपैयाँ दिएको र फोटो खिचेको बताएका थिए। उनीहरुले आफुलाई महान देखाउन खोजेपनी काठमाडौंका तत्कालीन डिआइजी अमर सिंह शाहले राम्रोको लागि अपराध गरेको भन्दै आफुलाई सफा देखाउने अपराधीहरुको मानसिकता नै भएको बताएका थिए। श्रेष्ठ र भण्डारी यो आफ्नो कार्य जति सुकै गिरेको भएपनी त्यसको कारण समाजलाई सफा राख्न र समाजकै राम्रोका लागी गरेको भनेर मान्नु ठुला अपराधीहरुमा भेटिने 'माइण्डसेट' भएको प्रहरी बताउँछन्।
त्यसदिन जनआस्था पत्रीकामा छापिएको उक्त तस्बिरले हेडलाईनमा लेखिएको अनुसारको रंगिन रात नभएर पत्रकारिताको बाहिर नदेखिएको एकदमै कालो र घिनलाग्दो अवस्था चाहिँ प्रष्ट गरेको छ। त्यही कालो अवस्थाले श्रीषाको ज्यान लिएको थियो। श्रीषा कार्किको मृत्यु भएपछि माइतीघर मण्डलामा ठूलो आन्दोलन पनि भयो। नेपाली सिने क्षेत्रका ठुला-ठुला सेलिब्रेटीहरुले पनि 'प्रोटेस्ट'मा भाग लिँदै किशोर श्रेष्ठ र जनआस्थाको बिरोध गरेर कडा भन्दा कडा कार्वाहीको माग गरे। तर, शक्ति र पहुँचमा रहेका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई खासै केहि कार्वाही नै भएन। श्रीषा कार्कीको त्यो फोटो खिच्ने फोटो पत्रकार उद्धब भण्डारीलाई चाहिँ के सजाय भयो? श्रीषा कार्कीको त्यो फोटो खिच्ने फोटो पत्रकार उद्धब भण्डारी फोटो छापिँदा स्कटल्याण्डमा थिए। उनि प्रहरीको सब-इन्स्पेक्टर हुँदा माओवादीका डेपुटी कमान्डरको हत्या गरेको र त्यसको बदला लिन माओवादीले आफुलाई 'मस्ट वान्टेड'को सुचीमा राखेकोले आफु नेपालमा असुरक्षित दावी गर्दै उतै आश्रय लिएर बस्ने तयारी पनि गरिरहेका थिए। तर, त्यही बिच श्रीषा कार्किको आत्महत्याको कुराहरुले उनको कुरा बिगार्यो। उता, आश्रयको लागी पटक-पटक प्रयास गर्दा पनि नपाएर अन्तिममा उनि २०६४ साल तिर नेपालमै डिपोर्ट हुन लागेका थिए। नेपाल फर्कनै पर्ने भएपछी नेपालमा श्रीषा कार्कीको 'आत्महत्या दुरुत्साहन'को कानुनी झन्झट भोग्नु पर्ने भएपछी उनले असाइलम (आश्रय) लिने कार्यालयमा नै आत्महत्या गरे। श्रीषाको परिवारले संलग्न सबैलाई हत्याकै मुद्धा लगाएर अगाडि बढ्न खोजे । तर, किशोर श्रेष्ठको पहुँच र शक्तिको आडमा थिए। त्यसबेला एमालेका शक्तिशाली नेता तथा पुर्व गृहमन्त्री वामदेव गौतम किशोर श्रेष्ठको नजिकका मान्छे थिए।श्रेष्ठको शक्ति र पहुँचको अगाडि श्रीषाको परिवारको केही लागेन । खोजपत्रकारीताको बाहानामा कसैको पनि चरीत्रहत्या गर्न सक्ने किशोर श्रेष्ठको पत्रीकाले नेपालको पुरै पत्रकारीता क्षेत्रलाई नै बदनाम गरिरहेको थियो र पनि उनको पत्रीका जनआस्था 'क' बर्गको पत्रीका मानिन्थ्यो । उनका कर्तुतका बारे कसैले बोल्ने हिम्मत गर्दैन थिए।
उनिसंग निहुँ खोज्यो कि जनआस्थाले जेपनि छापिदिन सक्थ्यो भन्ने डर मानिसहरुमा थियो । त्यसैले उनलाई सहयोग गर्नु नै सबैको लागि सबैभन्दा राम्रो विकल्प थियो। एउटा सामान्य सदस्य बनेर प्रेस काउन्सिलमा छिरेका उनी प्रेस काउन्सिलका अन्तरिम अध्यक्ष पनि हुन पुगे । त्यतिमात्र होइन, उनले भिभीआइपीहरुले मात्र पाउने विशेष सुबिधा सहितको रातो पासपोर्ट पनि पाएका थिए। त्यो सबै उनको राजनितिक पहुँचको कारण थियो। ठुला राजनितीक नेताहरु सबै उनका मान्छे थिए। त्यसैले उनको जनआस्था पत्रीकालाई त्यस्ता अफवाह छाप्नबाट रोक्ने कोहिपनी थिएन्। त्यसैले जनआस्थाका समाचारहरु बाट सयौं पिडित भइरहेका थिए। र अहिलेपनि कयौं पिडित छन। तिनै मध्य एक पिडित लण्डनमा बस्दै आएकी क्षमता ढकाल पनि हुन्। जनआस्थाले उनको बारेमा पनि त्यस्तै समाचार छापेको थियो। ''सुन्दरीको जालमा धेरैको सखाप'' भन्ने शिर्षकमा उनको व्यक्तिगत फोटो सहित त्यो समाचार कुनै स्वार्थको आधारमा चरित्रहत्या गर्ने उद्देश्यले छापिएको थियो। क्षमताले त्यो भ्रामक समाचार र फोटो प्रकाशन गर्ने पत्रिका विरुद्ध लड्ने बिचार गरिन्। तर, उनको परिवारले अर्को श्रीषा नहुनु भन्दै उनलाई चुप लागेर बस्न भन्छन्। तर, खुलमखुल्ला गरिएको त्यो बेइज्जती खप्न नसकि उनी जनआस्था पत्रीका विरुद्ध मुद्दा लड्न नेपाल आउँछिन्। कुनै पत्रकार वा पत्रीकाले भ्रामक समाचार लेखेर दु:ख दिन्छ भने त्यस्तो अवस्थामा प्रेस काउन्सिलमा उजुरी दिने ब्यबस्था छ। क्षमतापनी पहिले प्रेस काउन्सिल नै पुगिन्। तर, त्यसको कार्यकारी अध्यक्ष नै तिनै जनआस्था पत्रीकाका मालिक किशोर श्रेष्ठ थिए। त्यहाँ श्रेष्ठले उल्टै आफुसँग अरु तस्बिरहरु पनि भएको र सार्वजनिक गरिदिन्छु भन्दै धम्काएको क्षमता बताउँछिन्। किशोर श्रेष्ठमाथि विगतमा पनि अनेकौं गाली-बेइज्जतीका मुद्दा परेका छन्, केहीमा जरिवाना पनि भएको छ। तर, जनआस्था अझै पनि उही ढंगले प्रकाशित भइरहेको छ। समाचार पनि उस्तै आइरहेका छन्। जनआस्थाको समाचारमा प्रयोग हुने भाषा अमर्यादित र एकतर्फी हुने गरेको भेटिन्छ। जनआस्थाका अधिकांश समाचारमा दाबी गरिएका कुराहरुको कुनै तथ्य र प्रमाण हुँदैनन्। जनआस्थाको समाचारहरुमा प्रमाण होइन् कथा धेरै भेटिन्छन्। पत्रिकाको नाम ‘जनआस्था’ भए पनि जनताको आस्था गुमाइसकेको छ।