टिकटक प्रतियाेगितामा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् ।
सुदर्शन थापाद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता आयाेजना गरेको छ। जसमा सहभागी भएर सबैभन्दा धेरै भ्युज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् ।
निर्देशक थापाकाअनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले तीजको व्रतको दिन मंगलबार बिहान ६ बजेदेखि ‘सम्हालिन्छ कहिले मन’ का ३ वटा गीत वा ट्रेलर कुनै पनि कन्टेन्ट छानेर टिकटक बनाउन सक्नेछन् । पुरस्कार जित्नका लागि उक्त टिकटकमा #एसकेएम फिल्म अनिवार्य लेखिएको हुनुपर्नेछ । १९ भदौ अर्थात् आइतबार राति १२ बजेसम्म जसले टिकटकमा धेरै भ्युज पाउँछ, उसैले पुरस्कार जित्नेछ ।
२१ गते विजेतालाई पुरस्कार वितरण गर्ने पनि आयाेजकले जनाएकाे छ ।
महिला र पुरुषले संयुक्त वा छुट्टाछुट्टै रूपमा टिकटक बनाउन पाउँछन् । १७ भदौबाट प्रदर्शनमा आउने ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलरसँगै तीनवटा गीत ‘जरुरी कुरा छ’, ‘हराएँ हराएँ’ र शीर्ष गीत ‘सम्हालिन्छ कहिले मन’ सार्वजनिक भएको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्म आकाश श्रेष्ठ, पुजा शर्मा, सोनाम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ ।