साहले अदालतको अवहेलना गरेकाे कारण देखाउँदै अधिवक्ता दीपकराज जोशीले सोमबार अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन्।
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग जवाफ मागेकाे छ । अदालतको अवहेलना मुद्दामा सर्वोच्चले साहसँग जवाफ मागेकाे हाे।
न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले साहसँग अवहेलनामा सजाय नहुनुपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ माग गरेको हो। मेयर साहले गत साउन २४ मा नर्भिक अस्पतालले बनाएका अनधिकृत संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका थिए। त्यही दिन नर्भिक सर्वोच्च गएको थियो। सर्वोच्चले नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएपछि मेयर साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिऊँ’ भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका थिए।
साहले अदालतको अवहेलना गरेकाे कारण देखाउँदै अधिवक्ता दीपकराज जोशीले सोमबार अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन्।
‘निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनु पर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु’ सर्वोच्चको आदेशमा भनिएको छ ।
