हरितालिका तीज पर्वमा महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मंगलबार महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बस्न बसिन् ।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
खास गरी स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् । बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ। निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिए पनि यस वर्ष खुला गरिएका छन्। दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको छ।