नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चीनको चिन्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३११ दिन अगाडि
नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चीनको चिन्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार नेकपा माओवाादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेका हुन् । ‘नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे उहाँहरुको चासो थियो,’ भेटमा सहभागी माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘हामीले एमसीसी र एपसीपीमा हामीले खेलेको भूमिकाबारे बतायौं ।’ संघीय संसद भवन नयाँ बानेश्वरमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्कीले भेट गरेका थिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालका प्राथमिकता प्राप्त क्षेत्रका ठूला परियोजनामा लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएका उनको सचिवालयले जनाएको छ । प्रचण्डले नेपालमा दसैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह पनि गरेका छन् । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका छन् । दुई पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको प्रचण्डको नाइ थियो । ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्’, अध्यक्ष प्रचण्डले भने । उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको पनि बताएका छन् ।