महाअभियोग प्रस्तावको प्रतिवेदन शनिबार नै पेश गर्न नसकिने एमालेको अडान

कागजात शुक्रबार भदौं ३० गतेमात्रै महाअभियोग सिफारिस समितिले सम्बन्धित निकायसँग मगाएको र त्यसको अध्ययन नगरी सो प्रतिवेदनलाई संसद सचिवालयमा दर्ता गराउन नसकिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १५०३ दिन अगाडि
महाअभियोग प्रस्तावको प्रतिवेदन शनिबार नै पेश गर्न नसकिने एमालेको अडान

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा शनिबार नै पेश गर्न नसकिने अडान राखेको छ ।

जबरामाथि लगाइएको महाअभियोगको पुष्टि हुने कागजात शुक्रबार भदौं ३० गतेमात्रै महाअभियोग सिफारिस समितिले सम्बन्धित निकायसँग मगाएको उल्लेख गर्दै त्यसको अध्ययन नगरी सो प्रतिवेदनलाई संसद सचिवालयमा दर्ता गराउन नसकिने कार्य दलका सदस्य समेत रहेका एमाले सांसद कृष्णभक्त पोखरेलले बताएका छन् ।

शुक्रबार बसेको समितिको बैठकलगत्तै उनले सञ्चारकर्मीहरुसँग जबराको सम्पत्ति छानवीनको काम, अदालतमा गरिएको विवादित फैसलाको विषय, सर्वोच्च अदालतको भवन निर्माण ठेक्का प्रकरणको विषयमा विस्तृत अध्ययन गरेर मात्रै सो प्रतिवेदन तयार गर्न सकिने बताएका हुन् । 

यता, सत्तारुढ नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले सो प्रतिवेदनलाई शनिबारसम्म पूर्णता दिई संसद सचिवालयमा दर्ता गर्ने बताएका छन्। उनले जबरामाथिको महाअभियोगबारे करिव ५ हप्ता छलफल भएको उल्लेख गर्दै अब त्यसलाई संसद सचिवालयमा दर्ता गराउन सकिने बताएका हुन् ।

सांसद विश्वकर्माले भने, ‘निष्कर्ष, निर्णय र सुझाव खण्डलाई हामी शनिबार बिहानसम्म तयार गर्छौं र प्रतिवेदनलाई पूर्णता दिई शनिबार नै संसद सचिवालयमा दर्ता गर्र्छौ । संसदमा शनिबार नै छलफल गर्ने सम्भावना भने देखिएन ।’

सांसद विश्वकर्माले महाअभियोग लागेका प्रधानन्यायाधीश जबराले भने आफूमाथिको छानवीनलाई लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।