काठमाडाै । काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका होर्डिङ बोर्ड बापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ ।
महानगरले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरक्षेत्रभित्र व्यापार व्यवसाय गर्ने संस्थाहरुले होडिङ बोर्ड बापतको शुल्क ३० दिनभित्रमा बुझाउन अल्टिमेटम दिएको हो । केही व्यक्ति संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखेको होर्डिङ बोर्ड बापत महानगरपालिकालाई बुझाउन पर्ने शुल्क नबुझाएपछि सूचना जारी गरेको महानगरले जनाएको हो ।
महानगरपालिकाको आर्थिक ऐन, २०५९ को अनुसूची २ बमोजिम तोकिएको शुल्क बुझाउन आग्रह गर्दै उक्त अवधिभित्र परिचय पार्टीकोे शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो होर्डिङ बोर्ड राखेको पाइएमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी समेत दिएको छ । काठमाडौं महानगरपालिकाले यस अघि अनुमति नलिइ होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको थियो । महानगरले असोज ५ गते सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह पनि गरेको थियो ।