हाम्रो कुनै कार्यले देश कहिल्यै हार्न हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९५ दिन अगाडि
हाम्रो कुनै कार्यले देश कहिल्यै हार्न हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाह दसैँको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि प्रश्न उठाएका छन् ।

न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ । 

आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे । शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको पनि आरोप लगाएका छन् ।  यो अवस्थाले जनतामा उत्साह नभएको र मुलुकमा  भविष्य निर्माणको कुनै भरोसा नभएको शाहको जिकिर छ ।


शाहले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

उनले रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशीरहेकोमा उनले चिन्तासमेत व्यक्त गरेका छन्।  विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको उनको भनाइ छ । 

उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’