धनगढीमा पीसीएल नर्सिङ पढाई हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९३ दिन अगाडि
धनगढीमा पीसीएल नर्सिङ पढाई हुने

धनगढी-  धनगढीस्थित नवजीवन अस्पतालले पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति पाएको छ।

 

सरकारले एक सय शय्याको अस्पताललाई मात्रै पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेपछि पछिल्लो एक वर्षयता सुदूरपश्चिमका कुनैपनि संस्थाले पीसीएल नर्सिंङ कक्षा सञ्चालन गर्न पाएका थिएनन्।

नवजीवन अस्पताललाई स्वास्थ्य सेवा विभागले एक सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएको हो। सो अनुमतिसँगै नवजीवन अस्पतालले ४० जनासम्मको नर्सिङ कक्षा सञ्चालन गर्ने अनुमति समेत पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज ढुंगानाले बताए।

२०६२ फागुन ११ गतेबाट १५ शय्यामा सञ्चालन गरिएको अस्पताल २०६८ सालबाट ५० शय्यामा सञ्चालन भएको थियो। ४० जना विद्यार्थीलाई पीसीएल नर्सिङ अध्यापनका लागि अनुमति पाएको ढुंगानाले बताए। 

उनले सीटीईभीटी र राष्ट्रिय चिकित्सा आयोगले अध्यापनका लागि अनुमति दिएको बताए। अस्पतालले चार जना विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्यापन गराउनुपर्नेछ।

नवजीवन अस्पतालले स्वास्थ्यका कार्यक्रम, सुत्केरी सेवा लगायत  सरकारले सञ्चालन गरेका सामाजिक स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

अध्यक्ष ढुंगानाका अनुसार अस्पतालमा सिटी स्क्यान मेसिन तत्कालै सञ्चालन गर्ने तयारी गरिएको छ, भने निकट भविष्यमै एमआरआई मेसिन समेत जडान गर्ने तयारी भइरहेको छ।