असाेज २४ मा मात्रै म्याद थप हुने
काठमाडाैं - नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् ।
बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएकाे थियाे ।
जाहेरी परेकाे समयमा लामिछाने क्यारेबियन प्रिमियर लीग खेल्नका लागि जमैका गएका थिए । यता नेपालमा आफूविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि सन्दीप लीग छाडेका थिए ।
जमैकाबाट कतार आइपुगेका सन्दीप केही दिन कतारमै बसेका थिए । कानुनी परामर्श लिएर सन्दीप बिहीबार नेपाल फर्किएका छन् । बिहीबार पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ ।
फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्मको समय पाउनेछ । तर त्यसका लागि अदालतबाट म्याद लिनुपर्ने हुन्छ । पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । बिहीबार सन्दीप पक्राउ परे लगत्तै अब प्रहरीले २४ घण्टाभित्र अदालतबाट अनुसन्धानका लागि म्याद लिनुपर्नेछ ।
तर म्याद थप गर्ने प्रयोजनका लागि अदालत असोज २४ गते सोमबार मात्रै खुल्ने भएकाले बन्दी प्रत्यक्षीकरणका लागि उच्च र सर्वोच्च अदालत तथा पक्राउ पुर्जी लिने प्रयोजनका लागि काठमाडौँ जिल्ला अदालत खुला रहेको भए पनि म्याद थप गर्नका लागि भने असोज २४ गते मात्रै म्याद थपका लागी अदालत हाजिर गर्नु पर्ने हुन्छ ।
सामान्यता जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी जाहेरीमा अनुसन्धानका लागि पहिलो पटक १० दिनको समय दिने गरिन्छ । त्यसपछि सात दिन र त्यसपछि पनि अनुसन्धान नसकिएमा अर्को सात दिन वा पाँच दिनको समय अदालतले दिने गरेको छ ।
पक्राउ परेको मितिले २४ दिनसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ र २४ औँ दिन सार्वजनिक बिदा परेमा त्यसपछि अदालत खुलेको दिन अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ ।
प्रहरीमा जाहेरी परेको कारण अब प्रहरीले सन्दीपसँग बयान लिई सन्दीपले अन्य कुनै व्यक्तिको नाम लिएका ती व्यक्तिहरुसँग पनि बयान लिन वा बुझ्न सक्नेछ । अभियोग पुष्टि हुने आधार र प्रमाण भएमा प्रहरीले अदालतबाट पाएको म्यादभित्रै अनुसन्धान सकी कुन कानुनको कुन दफा लगाएर मुद्दा दर्ता गर्नुपर्ने हो सो को रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलले सरकारवादी मुद्दा बनाएर अदालतमा मुद्दा दर्ता गर्नेछ ।
काठमाडौँ जिल्ला अदालतको कार्यक्षेत्रमा कसुर भएको भनी जाहेरी परेकाले काठमाडौँ जिल्ला अदालतमै उक्त मुद्दा दर्ता हुनेछ । जाहेरीमा जबरजस्ती करणीको कसुर गरेको भनी उल्लेख गरेकाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसारको कसुर गरेको अभियोगमा सन्दीपविरुद्ध मुद्दा दर्ता हुन सक्नेछ । दफा २१९ को उपदफा २ अनुसार नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा सन्दीपमाथि मुद्दा दर्ता हुने देखिन्छ ।
जाहेरी दिने नाबालिगको उमेर १७ वर्ष रहेको भनिएको छ र १७ वर्ष उमेर निश्चित भएमा सन्दीपमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३घ अनुसार सजायको मागवादी गर्दै मुद्दा दर्ता हुनेछ । दफा २१९ को उपदफा ३घ मा पीडित नाबालिगको उमेर १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
साथै सोही संहिताको दफा २२८ मा क्षतिपूर्ति भराउने व्यवस्था समेत रहेको छ । सोही व्यवस्थालाई हेर्दा पीडकबाट पीडितलाई क्षतिपूर्ति भराउने सम्बन्धमा पनि वादीले मागवादी लिन सक्नेछ ।
यसरी अभियोग पत्रका साथ अदालतमा मुद्दा दायर भएपछि अदालतमा आरोपितलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने वा थुना बाहिर राखेको मुद्दाको पुर्पक्ष गर्ने भन्दै थुनछेक बहस हुनेछ । यस्तो बहसमा अभियोग पत्रमा उल्लेख भएको आरोपको अवस्था, प्रमाण, अभियोग दाबी पुग्दा हुने सजाय आदिलाई मध्यनजर गरेर अदालतले थुनामै राख्ने वा थुना बाहिरबाट मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।
सन्दिप लामिछानेकाे जस्तै प्रकृतिकाे अभियाेगमा पूर्णविक्रम शाह (पल शाह) पनि गत महिनामा मात्रै जेल चलान भएका छन् नवलपुर जिल्ला अदालतले उनलाई २ बर्ष ६ महिनाकाे जेल सजाय र १० लाख रुपैया क्षतिपुर्ति भराउने गरी फैसला भएकाे छ भने जिल्ला अदालत तनहुँमा फैसला भएकाे छैन । अब लामिछानेकाे विषयमा भने के हुने भन्ने कुरा यकिङ भएकाे छैन ।