नेपालमा पुँजी लगानी गर्न गैर आवासीय नेपालीहरूलाई प्रधानमन्त्रीकाे आह्वान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
नेपालमा पुँजी लगानी गर्न  गैर आवासीय नेपालीहरूलाई प्रधानमन्त्रीकाे आह्वान

काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन् ।

मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । 
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले हरेक गैर आवासीय नेपालीहरूले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरूको विकास र प्रवद्र्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको पनि बताए । 

प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले गैर आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरूले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको औँल्याए । 

उनले गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतममा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताए । प्रधानमन्त्री देउवाले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरूलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताए । 

‘गैर आवासीय नेपाली संघको सहजरुपमा गर्नसक्ने लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ । संसारभर छरिएर रहनुभएका अनेक नेपालीहरू, नेपालका गैर आवासीय दूतहरू हुन् । तपाईंहरूले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ’, प्रधानमन्त्री देउवाले भने, ‘गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र सकेसम्म यहाँबाट स्वदेशी उत्पादनहरूको विकास र प्रवद्र्धनमा सहयोग पुर्‍याउन आवश्यक छ । यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको संरक्षणमा समेत टेवा पुग्छ । गैर आवासीय नेपालीहरूले आफैँले विदेशमा आर्जन गरेको आयातलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरूले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक छ ।’ 

प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘तपाईंहरूले धेरै उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकता सम्बन्धी ऐनमा समेटेर लैजाने छौँ । आफूसँग भएको सीप, पूँजीहरु नेपालको विकासमा लगाउन आह्वान गर्दछु ।’

प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।