गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब गर्नु हुँदैन : अध्यक्ष ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८२ दिन अगाडि
गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब गर्नु हुँदैन : अध्यक्ष ओली

 काठमाडाैं - पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिन विलम्ब गर्न नहुने  बताएका छन् ।

 

“गैरआवासीय नेपालीलाई नागरिकता दिन विलम्ब हुन नहुने थियो”, उनले भने, “यो विषयलाई निर्वाचनपछि समाधान गर्छौं, गैरआवासीय नेपालीलाई तुरुन्त नागरिकता उपलब्ध गराइनेछ ।” गैरआवासीय नेपाली दिवस एवं गैरआवसीय नेपाली सङ्घको वार्षिक साधारणसभाको आज काठमाडौँमा समापन गर्दै उनले आफूले सरकारको नेतृत्व गरेको समयमा गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन नागरिकता विधेयक अगाडि बढाउन खोजे पनि सत्ता साझेदारका कारण निणायार्थ प्रस्तुत गर्न नसकेको जिकिर समेत गरेका छ्न् । 

“गैरआवासीय नेपालीका माग स्वभाविक छन्, मैले त्यसलाई समर्थन गर्र्दै आइरहेको छु”, उनले भने । गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि लगानी गर्न आह्वान गर्दै उनले लगानीको व्यवधान हटाइने प्रतिबद्धता व्यक्त गरेका छन्  । “गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि सहज ढङ्गको वातावरण बनाइनेछ, लगानीको प्रक्रियालाई सरलीकृत गरिनेछ”, ओलीले भने ।

प्रवासी नेपालीलाई जहाँ भए पनि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले नेपाली जहाँ भए पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताएका छन् । उनले भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीमा गैरआवासीय नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरेका छन् ।