४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीति नियन्त्रण गर्न अमेरिका असफल भएको छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले पाचौँ पटक सम्म ब्याजदर बढाउँदा पनि त्यसको प्रभाव अर्थतन्त्रमा परेको छैन । अगस्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा खाद्यान्न, औषधी र बसोबासको मूल्य ०.४ प्रतिशतले बढेको छ । आधारभूत आवश्यकता जस्तै खाद्यान्न, इन्धन, बसोबासको मूल्य बढ्दा सेप्टेम्बर महिनाको कुल मुद्रास्फीति दर ८.२ प्रतिशत पुगेको छ ।
गत वर्षको तुलनामा यस वर्षमा कोर मूल्यवृद्धि दर ६.६ प्रतिशतले बढेको छ । मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भ दृढ रहेको फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले बताएका छन् । तर उनको मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याज दर बढाउने र आर्थिक गतिविधि सुस्त पार्ने नीति सफल हुन सकेको छैन ।
सन् २०२२को मार्च महिनाबाट ब्याजदर वृद्धि गर्न सुरु गरेको फेडले निरन्तर ब्याजदर बढाउँदा पनि मुद्रास्फीति नियन्त्रणमा आउन सकेको छैन । मुद्रास्फीति नियन्त्रणमा नआउँदा र ब्याजदर वृद्धि भइरहँदा अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना प्रबल हुँदै गएको छ भने आर्थिक वृद्धि दर खुम्चिएको छ ।
मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकतामा राखी ब्याजदर बढाइरहेको फेडरल रिजर्भले नोभेम्बर महिनामा पनि ब्याजदर बढाउने अनुमान विज्ञहरुले गरेका छन् । नोभेम्बर २ र ३ मा हुने फेडको नीतिगत बैठकको नतिजाले विश्व अर्थतन्त्रको दिशानिर्देष गर्ने छ । यस अघि सेप्टेम्बर महिनामा फेडले ब्याजदर बढाउँदा, त्यसको नकरात्मक प्रभाव विश्व सेयरबजार र सकरात्मक प्रभाव अमेरिकी बन्डमा परेको छ ।