मोफसल भ्रमणमा ‘महापुरुष’ टीम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८१ दिन अगाडि
मोफसल भ्रमणमा ‘महापुरुष’ टीम

काठमाडाैं -    कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’ले प्रचार-प्रसारलाई चुस्त बनाउन मोफसलका विभिन्न शहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै सांगीतिक कार्यक्रमबाट मनोरञ्जन दिइरहेको छ । निर्माण टिमले असोज २५ गते पूर्वको विर्तामोडबाट मोफसल यात्राको सुरुवात गरेको हो । 

झापाकाे एक मुख्य शहरकाे रुपमा रहेकाे विर्तामोडपछि असोज २५ गते पूर्वको सुनसरीकाे इटहरी र माेरङ्गकाे विराटनगरमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायिका रचना रिमाल लगायतले दर्शकसँग भेट गरे । मोफसलका यी तीन ठूला शहरमा उनीहरुले फिल्मको बारेमा जानकारी दिँदै आफ्नो प्रस्तुतीमार्फत् मनोरञ्जन पनि दिएका थिए । 

पूर्वका तीनै शहरमा आयोजित कार्यक्रममा कलाकार आचार्यले आफ्नो चर्चित गीत ‘हाम्री आमा साह्रै नै बाठी छिन्’ गाएका थिए भने डेब्यू कलाकार द्वय अरुण र अञ्जनाले ‘महापुरुष’मा समावेश ‘बेमौसमी’ गीतमा रोमान्टिक नृत्य प्रस्तुत गरेका थिए । फिल्मका कलाकारहरुलाई हेर्न दर्शकहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । 

फिल्मको टिमले विर्तामोड, इटहरी र विराटनगरमा कार्यक्रम गर्दै पूर्वको प्रचार यात्रालाई पूर्णविराम लगाएको छ । पूर्वबाट निर्माण टिम पश्चिम हानिएको छ । असोज २७ गते हेटौंडा पुगेको फिल्मको टिमले त्यसपछि नारायणगढ, बुटवल र पोखरा पुगेर दर्शक भेट्नेछ । फिल्मका निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले मोफसल भ्रमणमा दर्शकको साथले उत्साहित भएको बताए ।

प्रदीप भट्टराई निर्देशित फिल्ममा शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् ।