मलाई एमालेका अध्यक्षले नै काठमाडौं ७ बाट चुनाव लड्न अफर गर्नुभएको थियो : स्वर्णिम वाग्ले

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७३ दिन अगाडि
मलाई एमालेका अध्यक्षले नै काठमाडौं ७ बाट चुनाव लड्न अफर गर्नुभएको थियो : स्वर्णिम वाग्ले

काठमाडौं- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् ।

नेपाली कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई ओलीले फोन गरेर काठमाडौं ७ बाट उम्मेदवारी दिए आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन् ।

'टिकटको आकांक्षी थिए, नपाएपछि मलाई एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्नसक्छु । काठमाडौं ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ कांग्रेसको उम्मेदवार पनि छैन, एमालेले तपाईंलाई सहयोग गर्छ, तपाईं शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो,' उनले भने, 'रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो । कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्सन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न । मेरो तीन पुस्ते कांग्रेस नै हो ।’

वाग्लेले आफू सक्रिय पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको बताए । उनले आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने समेत बताए । उनले भने 'तत्कालमा जनमत बनाउने, युवाहरूसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौं ४ बाट सुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु । निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु ।'

नेपाली कांग्रेसबाट चितवन-१ का प्रतिनिधिसभा उम्मेदवारको आकांक्षी रहेका वाग्लेले टिकट भने पाएनन् ।