ताप्लेजुङ : तीन सातामा ३०६ तोला सुन बरामद

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४६७ दिन अगाडि
ताप्लेजुङ : तीन सातामा ३०६ तोला सुन बरामद

ताप्लेजुङ- तीन साताभित्र ताप्लेजुङमा तीन सय छ तोलाभन्दा बढी सुनसहित छ लाखभन्दा बढी नगद प्रहरीले बरामद गरेको छ । 
 

गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित मनी ट्रान्सर्फरमा भएको लुटपाटमा उक्त सुन र नगद बरामद गरिएको हो । 
 
ताप्लेजुङको फुङ्लिङस्थित कञ्चन मनी ट्रान्सर्फरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रबार साँझसम्ममा प्रहरीले ३०६.६१ तोला सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार बेलुका फुङ्लिङ नगरपालिकामा निर्माण हुँदै  गरेको नयाँ बसपार्क छेउमा खाल्डो खनी पुरेको अवस्थामा ३३ थान अर्थात् ४६.६१ तोला सुनका गहना फेला पारिएको जिल्ला प्रहरी कार्यालय प्रमुख (डिएसपी) कैलाश राईले बाताए ।  

शुक्रबार दिउँसो प्रहरीले फुङ्लिङ नगरपालिका–४ स्थित जङ्गलमा प्रहरीले थप ८९ थान अर्थात् १ सय १७ तोला सुनका गहना फेला पारेको थियो । यस अगाडि नै एक सय ४३ तोला सुन प्रहरीले बरामद गरिसकेकामा शुक्रबार फेला परेका ४६.६१ र ११७ तोला गरी यसअघि बरामद गरिएको एक सय ४३ तोलाम गरी ३०६.६१ तोला सुन र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले फेला पारेको प्रहरी कार्यालयले जनाएको छ । 

लुटपाटमा संलग्न चार आरोपीलाई नियन्त्रणमा लिइएकामा उनीहरुको साथबाट बरामद गरेको नगद तथा सुनका गरगहनासमेत बारामद गरिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल रहेका छन् । 

बरामद गरिएका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी, कैचीलगायत सामग्री) पनि सार्वजनिक गरिएको थियो । 

यता कञ्चन मनी ट्रान्सर्फरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा (असोज २४ गते) रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी रु तीन करोड ३९ लाख ९९ हजार छ सय  बराबरको तीन सय ४८ तोला सुन पनि लुटपाट भएको जनाइएको छ ।
 
पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । उनले भने, “सुन कारोबार (जाकेट)को इजाजत छ वा छैन । कागजात मागेका छौँ । अनुसन्धान हुन्छ ।” आरोपीहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई असोज १७ गते बिहान पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र सुनका गरगहना लुटपाट गरेका थिए  । लुटपाटमा संलग्नभएकाहरु  लागुपदार्थ सेवनकर्ता भएका प्रहरीको अनुसन्धानले जनाएको छ । 

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।