काठमाडौं - हेलिकोप्टर र हवाइजहाजका मालिक सुमन विक्रम पाण्डे यतिबेला नुवाकोट क्षेन नं. २ का जनताको घरदैलो अभियानमा छन् ।
उनी कतै पैदल यात्रा त कहीँ मोटर साइकलमार्फत जनताको मन बुझ्दै मत माग्दै हिँडिरहेका छन् । लामो समयको ब्यावसायिक जीवन पछि उनी रवी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका हुन् । हेलिकोप्टर र हवाइजहाज मात्र नभएर विभिन्न १८ वटा कम्पनीका मालिकसमेत रहेका पाण्डे अब कुनै एक व्यक्तिको मात्र नभएर सिंगो देश र सम्पूर्ण नेपाली जनताको समृद्धी र विकासका लागि राजनीतिक यात्रामा सक्रिय हुनु परेको बताउँदै आएका छन् । उनी समिट एयर र फिस्टेल एयरका मालिक हुन्।
पूराना राजनीतिक दलको दाहोरिरहने भाषण र अपूरा एजेन्डाभन्दा माथि उठेर विशुद्ध जनताको सेवाका लागि आफ्नो उम्मेदवारी रहेको पनि पाण्डले नेपाल विशेषसँग बताए । नुवाकोट क्षेत्र नं. २ का जनतासँगको भेटमा पनि उनले जनताका वास्तविक गुनासा र पिरमर्का सुनेर उनीहरूको जीवनस्तर माथि उकास्न आवश्यक प्राविधिक, ब्यबाहारिक र शैद्धान्तिक सबै किसिमबाट लाग्ने प्रतिबद्धता जनाउदै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडा र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अर्जुननरसिंह केसीको उम्मेदवारी रहेको नुवाकोट २ मा यस पटक सुमन विक्रम पाण्डेको उपस्थिति निकै बालियो ठानिएको छ । घण्टी चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका पाण्डेको उपस्थिति एमाले र गठबन्धका दुवैका लागि ठूलो चुनौती बनेको कतिपयको विश्लेषण छ।