काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो।
अदालतले उनलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो। कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।
लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।