काठमाडाैं - क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा रहेकाे हाे ।
लामिछानेकाे पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गर्दै आएका छन् ।
शुक्रवार पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्नेछन् । आजको बहसपछि सञचारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताएका छन् ।
उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् । बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ थियो । उनले सन्दीप लामिछानेको पक्षमा आफूहरुले दरो प्रमाण पेस गरेको दाबी समेत गरेकी छन् ।
उनले भनिन् ‘हामीले थुनछेक बहस गर्यौं, ४ जना वरिष्ठ अधिवक्ता र मुरारीजी र हामीले थुनछेक बहस ग¥यौं । हामीले पुरानै प्रमाणहरु दलील ग¥यौं । दुई वटा जन्मदर्ताका कुराहरु, बाँकी कुराहरु जुन सन्दीप लामिछानेले बयान दिनुभएको थियो । घुम्न गएको, होटलमा बसेको तर करणी भएको होइन भन्ने किसिमका पस्केका छौँ ।
भोलि सरकारी पक्षका वकीलहरुको जवाफ बाँकी छ । त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’
अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताएकी छन् । सन्दीपबिरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।