काठमाडौं - इंग्ल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको सहज जित निकालेको छ ।
इंग्ल्यान्डले अब उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आउँदो आइतबार हुनेछ ।
बिहीबार अस्ट्रेलियाको एड्लेइड ओभलमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
बटलर र हल्सले अविजित १६९ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले १६ ओभरमा विनाविकेट क्षतिमा लक्ष्य भेट्टायो ।
यसअघि, भारतका हार्दिक पन्ड्याले ६३ रन बनाएका थिए । विराट कोहलीले ५० रन जोडे । कप्तान रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रनको योगदान गरे ।
इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । क्रिस वोक्स र आदिल राशिदले एक/एक विकेट लिए ।