गठबन्धनकाे मलाई कुनै चुनाैति छैन, जित सुनिश्चित छ – नेता बास्कोटा 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५४ दिन अगाडि
गठबन्धनकाे मलाई कुनै चुनाैति छैन, जित सुनिश्चित छ  – नेता बास्कोटा 

काठमाडौं –  मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन नजिकदै गर्दा पार्टीका नेताहरु जनताका घरदैलोमा जान भ्याई नभ्याई छन् । देश चुनावमय बन्दै गएको छ । प्रतिनिधिसभा अन्तर्गत काभ्रे–२ पनि नेकपा एमालेका नेता गोकुल बास्कोटा भोट माग्न नाच्दै गाँउदै जनताको घर दैलोमा गईरहेको छन् । 

 नेता बास्कोटाले आफ्नो पुरानै शैलीमा विपक्षीहरुलाई तल्लोस्तरको उपमा दिँदै आफू बलियो रहेको दाबी  गर्दै भोट माथिरहेका छन् । उनले गठबन्धन दल ‘स्यालहरुको झुण्ड’ रहेको र एमाले ‘हात्ती’ रहेको दाबी गर्दै आसन्न निर्वाचनमा काभ्रे–२ मा ‘स्यालहरुको झुण्ड’ले हात्ती लडाउन नसक्ने जिकिर गरेका छन् ।
नेता बास्कोटा स्वागतका लागि काभ्रे क्षेत्र नं. २ का  ठाउँ–ठाँउमा घडा थापिएको थियो भने पार्टीका कार्यकर्ता एवं स्थानीय माला लिएर सडकमा  निस्किएका थिए । 
गोकुल बास्कोटाको प्रशंसामा बनाइएको चुनावी गीतमा नाचिरहेका कार्यकर्तासँगै बास्कोटा पनि एकछिन नाँचे अनि केही संक्षिप्त भनाइ राख्दै आफूलाई जिताउन आग्रह गरे ।

बास्कोटासँगको छोटो कुराकानी – 

जनताले तपाईंसँग के अपेक्षा गरेका छन् ?
हामीले जति काम गरेका छौँ र जति काम गर्न बाँकी छन्, ती सम्पूर्ण काम बाँकी समयमा पूरा होस् भन्ने अपेक्षा गरेका छन् र त्यसमा हामीले प्रतिबद्धता जनाएका छौँ ।
सत्ता गठबन्धनसँग कतिको चुनौती महसुस गर्नुभएको छ ?
अँ, स्यालहरुको घेराबन्दी देखेर हात्ती कहिल्यै पनि आफ्नो बाटो छोडेर दायाँबायाँ लाग्दैन ।
तर हात्तीलाई भुसुनाले पनि रुवाउँछ नि ?
यसो कान्छी औंलाको काम हुन्छ ।
भनेपछि गोकुल बास्कोटालाई गठबन्धनले हराउन सक्दैन ?
गोकुल बास्कोटालाई हैन, नेकपा एमालेलाई गठबन्धनले हराउन सक्दैन । त्यसकारण हामी इतिहासमा शानदार बहुमत ल्याएर आफ्नो नीति, आफ्नो नेतृत्व, आफ्नो कार्यक्रम र व्यापक जनताको साथमा देशको स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र संरक्षण, आम जनतालाई लोकतन्त्रको अभ्यास र अनुभूति गर्न पाउने प्रक्रियाको सुदृढीकरण गर्छौं । सँगसँगै मुर्छित जनताका सपनाहरुलाई नेकपा एमालेले आफ्नो साढे ३ वर्षको अवधिमा भत्केका घरहरु बनाएर, बाटोघाटो, पुल पुलेसा, सिंचाई, मठ मन्दिर, गुम्बा पार्टी, चैत्य आदि इत्यादिमा एउटा पुनर्जागरणको युग सुरु गरेको छ । हाम्रो देशमा नेपाली जनताले आफ्नै बल बुता, मिहेनत र पसिनामा आफ्नो देश बनाउन सक्छन् भन्ने सन्देश प्रवाह गरेको छ, जसले युवाहरुले आफ्नै जीवनमा परिवर्तन सम्भव छ भन्ने कुराको अनुभूति गरेका छन् ।
बितेको १८ महिनामा ‘गठे सरकार’ बनेपछि आज जनताले मल पाएका छैनन् । त्यसैले जनतालाई सहज रुपमा उनीहरुका आधारभूत आवश्यकता पूर्ति गर्न र गराउने कुरामा, जनताप्रतिको जवाफदेहिताको कुराको एजेण्डा बोकेर हिँड्ने पार्टी एमाले भएकाले एमालेको जित सुनिश्चित छ । मंसिर चार, ओली सरकार ।
 तपाईंका एजेण्डाहरु चाहिँ के के छन् नि ? 
अधुरा काम पूरा गर्ने, केही नविनतम् र अलिकति फरक खालका कामहरुको सुरुवात गर्ने अर्थात् पूर्वाधारको निर्माणपछि दिगो विकासतर्फ हामी जाने, गरिबी निवारणका लागि एउटा सशक्त राष्ट्रिय हस्तक्षेप गर्ने, २५ लाख युवालाई ५ वर्षभित्र रोजगारी दिने, भर्खर किशोरी अवस्थामा पुगेका महिलाहरु महिनावारीका बेला हुने उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर किशोरीहरुका निम्ति मासिक १५ सय भत्ता प्रदान गर्ने ।

अरु सबै क्षेत्रका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, सिंचाई, पर्यटन कृषि, उद्योगधन्दा आदि इत्यादिको नवनिर्माण र विकासद्वारा आर्थिक वृद्धिदर कायम गर्ने र आउने आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय २४ सय अमेरिकी डलर पु¥याउने उद्देश्यका साथ नेकपा एमाले नेपाली जनताको सुख र दुःखको साथी र समृद्धिको नेतृत्वकर्ताको रुपमा जुन विगतको मनमोहनको पालादेखिको इतिहास छ, त्यो इतिहासको रेकडै ब्रेक गर्नका निम्ति हामी यो महासंग्राममा सामेल भएका छौँ । त्यसैले देशैभरिबाट आमजनताको साथ एमालेलाई हुन्छ ।