चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले चोरीको आरोपका एक जनालाई पक्राउ गरेको छ । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा भरतपुर अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । प्रहरीले गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं. २९ केरावारीमा भएको दुर्घटनामा मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट राईले चोरी गरेकोे आरोप लगाएको छ ।
प्रहरीले मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला हातमा लगाएको ब्रासलेट राईले चोरी गरेकोे जनाएको छ उनको गतिविधि शंकास्पद मानेर अनुसन्धान गर्दा चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रवक्ता विजयराज पण्डितले मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले अनुसन्धान गरेको जानकारी दिए ।
डीएसपी पण्डितले पक्राउ परेका राई विरुद्ध जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढेकोे जानकारी दिएका छन ।