काठमाडौं - पुस २७ गतेबाट नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते दुवै बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । पुस ७ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
यसअघि इन्भेष्टमेन्ट र मेगा बैंकले मंसिर १३ गते एक आपसमा गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १००ः०.९० अनुपातमा मर्ज भएका हुन् । अब मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । ९०% को स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ ।
यता पुस २७ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २५ र २६ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् ।
