रेसुंगा - आइतबार गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरले डेमो उडान गरेको छ।
रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आईतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाज अवतरण गरेको हो । आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको थियो ।
उक्त विमानमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारी थिए । रेसुंगा नपनगरपालिका कार्यालयले रेसुंगा विमानस्थलमा पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा आईतबार सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाको समन्वयमा विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरिएको र त्यसको खुसीयालीमा नगरपालिकामा सार्वजनिक विदा दिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिएका छन् । गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट ५ किलोमिटर दुरीमा रहेको रेसुंगा विमानस्थलबाट अब तारा एयरले नियमित उडान गर्ने भएको छ ।