शिक्षिकाको लापरबाहीले एक छात्राको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९६ दिन अगाडि
शिक्षिकाको लापरबाहीले  एक छात्राको मृत्यु

काठमाडौँ  – शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका– ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जना कुमारी महराको मृत्यु भएको हो ।  पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् ।  प्रहरील शिक्षिका अम्बिका लम्सालले  पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको जनाएको छ ।
 

सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको छ ।  शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।
 

उनीहरुले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् । मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँचजना प्रहरी घाइते भएको बताएका छन् ।