एजेन्सी - सन् १९६८ मा रिलिज भएको फिल्म ‘रोमियो एण्ड जुलिएट’ मा काम गरेका कलाकारहरूले ‘नग्न दृश्य’ दिन लगाएको आरोपमा प्यारामाउन्ट पिक्चर्सविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
यो मुद्दा अमेरिकामा दर्ता गरिएको छ । उनीहरुले फिल्ममा नग्न दृश्य समावेश गराउनका लागि यौन दुर्व्यवहार र यौन उत्पीडन भोग्नुपरेको आरोप लगाएका छन् । प्यारामाउन्ट फिल्मको यो फिल्म फ्रान्को जाफ्रेलीले निर्देशन गरेका हुन् । फिल्मका कलाकार लियोनार्ड ह्वाइटिङ र ओलिभिया हसीले यसमा काम गर्दा उनीहरू १६ र १५ वर्षका थिए । लियोनार्ड ह्वाइटनिङ र ओलिभिया हसी अब ७० वर्ष पुगिसकेका छन् ।
दुवैले फिल्मको सुटिङ चलिरहेको बेला निर्देशक फ्रान्को जाफ्रलिनले नग्न दृश्य गर्नका लागि भनेको बताएका छन् । जबकि उनले सुरुमा उनीहरुसँग यस्तो कुनै पनि सीन नगराइने ग्यारेन्टी दिएका थिए । यी दुईले अब यसका लागि ५० करोड डलर जरिवाना मागेका छन् ।
मुद्दाको याचिकामा दुबै ब्रिटिश कलाकारले यसका कारण आफूहरुले निकै भावनात्मक समस्या भोगेको बताएका छन् । आफूहरु दशकौँसम्म मानसिक समस्यासँग जुधिरहेको उनीहरुले बताए । फिल्मको प्रिमियरपछि उनीहरुले धेरै काम पाइरहेका थिए ।
तर, प्यारामाउन्टले भने यो मुद्दामा आफ्नो तर्फबाट कुनै प्रतिक्रिया दिएको छैन ।