काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएसगै हवाई भाडादरमा पनि कमी आएको छ ।
आइतबार हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडामा कमी गरेको हो । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ भने सबैभन्दाकम काठमाडौंदेखि सिमराको १८० रुपैयाँ घटेको छ ।
नयाँ भाडादर अनुसार धनगढी जान अब अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ । विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ । काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।
त्यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा पनि भाडा कम भएको छ । माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । यो भाडादर २७ पुसबाट लागु हुनेछ ।