प्रधानमन्त्री भएसंगै जिम्मेवारी र चुनौती थपिएको छः प्रधानमन्त्री दाहाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१५ दिन अगाडि
प्रधानमन्त्री भएसंगै जिम्मेवारी र चुनौती थपिएको छः प्रधानमन्त्री दाहाल

गोरखा -  सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्। 

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् । प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गरे। 

प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्ने र सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । 

उनले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवादसमेत दिए ।