काठमाडाैं- सेयर बजारले विस्तारै गति लिँदै गर्दा लगानीकर्तामाझ पुन: चर्चा परिचर्चा बढ्न थालेकाे छ।
लामाे समयकाे पर्खाइपछि अर्थात गत साउन १७ गते २,१९६.२५ अङ्कमा बन्द भएको शेयर बजार परिसूचक सोमवार २,२११.७७ अङ्कमा पुग्यो।
सोमवार एक दर्जनजति कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको थियो।
त्यसरी सकारात्मक सर्किट लेभलमा पुग्नेमा धेरैजसो जलविद्युत् कम्पनीहरू रहेका छन् । मङ्गलवार नेप्से परिसूचक २१ अङ्कले घटेर २१९०.४२ मा बन्द भए पनि पछिल्लो चढावसँगै उत्साहित बनेका लगानीकर्ताहरूले नेप्से अझै उक्लिने विश्वास व्यक्त गरिरहेका छन्।
लगानीकर्ताहरूको मनोबल घट्न नदिन सरकारले पनि आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनीहरूको पनि आग्रह छ। केही महिनाअघि शेयर लगानीकर्ताहरूले उठीबासको अवस्था आएको भन्दै सरकार गुहार्न पुगेका थिए।
पछिल्ला दिनमा शेयर कारोबारमा वृद्धि हुनुमा तीनवटा प्रमुख कारण रहेको लगानीकर्ताहरूले बताउँदै आएका छन्
नयाँ सरकारको नीति
पुँजीबजारलाई लिएर नयाँ सरकारले देखाएको चासो लगानीकर्ताहरूको मनोबल बढाउनुमा प्रमुख कारण रहेको उनीहरूको तर्क छ।
'मन्त्रिपरिषद्को पहिलो बैठककै निर्णयमा पुँजीबजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने विषय पर्यो जसले लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढायो,' नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजीबजार समितिका सभापति तथा लगानीकर्ता अम्बिका पौडेलले भने।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकका पाँचवटा निर्णयको पहिलो बुँदामै पुँजी बजारसम्बन्धी निर्णय परेको थियो।
'अर्थतन्त्रमा देखिएका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चितिमा परेको तथा पुँजी बजारमा आएको गिरावटलाई वित्तीय र मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने' निर्णयमा छ।
“विगतमा सरकार, नियामक निकाय र पुँजी बजारसँग प्रत्यक्ष सम्बन्ध भएका निकायको पुँजी बजारप्रतिको धारणाले लगानीकर्तामा एक किसिमको निराशा थियो,” पौडेलले भने । वर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पुँजी बजारप्रति सकारात्मक धारणा राख्ने राजनीतिज्ञका रूपमा कतिपयले लिने गरेकाले पनि बजार सकारात्मक देखिन्छ ।
आर्थिक सूचकमा सुधार
नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क हेर्दा पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको देखिन्छ भने त्यसैगरी अहिले विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स पनि बढ्न थालेको देखिन्छ। यी आर्थिक सूचकहरूमा देखिएको सुधारले पनि शेयर कारोबारमा सकारात्मक प्रभाव देखिएको कतिपय लगानी कर्ताहरूकाे बुझाइ छ ।
राजस्व सङ्कलनमा पनि तुलनात्मक रूपमा सुधार देखिएपछि शेयर लगानीकर्ताहरूमा त्यसको सकारात्मक प्रभाव परेको उनीहरूले बताउछन्
रलताको अवस्थामा सुधार
पछिल्लो समय लगानीयोग्य पुँजी अभावको अवस्थामा केही सुधार हँदै गएको तथ्याङ्कले देखाउँछ। ब्याङ्किङ क्षेत्रमा अहिले तरलता बढ्ने र ब्याजदर घट्ने भन्ने धेरैकाे अपेक्षा छ। तत्कालीन अर्थमन्त्री र गभर्नरबीच तिक्तताका कारण पनि केही समयअघि केन्द्रीय ब्याङ्कबाटै त्यति सकारात्मक सन्देशहरू नआइरहँदा राम्राेसँग बजारले गति नलिएकाे हुनसक्छ । तर अहिलेका अर्मन्त्रीकाे आगमनसँगै शेयर लगानीकर्ताहरूको मनोबल बढेको देखिन्छ ।
यसैगरि नेपालमा अहिले शेयरको ‘बुक क्लोजिङ’को समय हुनु पनि बजार परिसूचक उकालो लाग्नुको अर्काे कारण देखिन्छ ।