चितवन - चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले गैंडा मृत अवस्थामा भेटेको हो ।
निकुञ्जले बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने जनाएको छ ।
यसअघि, गत पुस २४ गते कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा अन्दाजी १८ वर्षको एक पोथी गैंडा मृत भेटिएको थियो ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा ८ वटा गैंडा मृत भेटिएका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा बाघ मृत अवस्थामा भेटिएको जानकारी दिएका छन् ।
निकुञ्जको नियमित गस्ती टोलिले बुधवार दिउँसो मृतअन्दाजी १५ वर्षको भाले बाघ मृत अवस्थामा फेला पारेको हो ।