बुटवल – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले महराले शपथ नलिने भएपछि बाँकेबाट निर्वाचित कृष्णा केसीलाई शपथका लागि पठाउने निर्णय गरेको जानकारी दिएका छन् ।
महराले अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका छन् । नेता महरा मुख्यमन्त्रीको दाबेदार थिए । एमालेबाट दलका उपनेता चेतनारायण आचार्यले मन्त्रीको शपथ लिने उक्त पार्टीको संसदीय दलका एक सांसदले बताए ।
मुख्यमन्त्री लिला गिरी निकटका एक नेताले माओवादी केन्द्रलाई समेटेर आज सानो आकारको मन्त्रिपरिषद् बनाउने र बाँकी दलहरुसँग छलफल गरेर विस्तार गर्ने बताएका छन् ।