कार्यक्रममा निम्तो पठाउन नै कन्जुस्याइँ ,भारतमा अरविन्द केजरीवालसँग किन डराउँदैछ कांग्रेस ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
कार्यक्रममा निम्तो पठाउन नै कन्जुस्याइँ ,भारतमा अरविन्द केजरीवालसँग किन डराउँदैछ कांग्रेस ?

भारत- भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी नेतृत्वको ‘भारत जोडो यात्रा’ समापन हुँदैछ । कन्याकुमारीदेखि शुरू भएको यात्रा कश्मीरमा पुगेर समापन हुँदैछ ।

यात्रा समापनका क्रममा कांग्रेसले कश्मीरमा हुने कार्यक्रममा अधिकांश विपक्षी दलका नेतालाई निम्ता दिएको छ तर कांग्रेसले आम आदमी पार्टी (आप) अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई निम्ता दिएको छैन ।

कांग्रेसले कार्यक्रमका लागि २१ विपक्षी दलका नेतालाई बोलाएको छ । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले विभिन्न व्यक्तिलाई निमन्त्रणापत्र पठाएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को विपक्षमा रहेका सबैलाई एकताबद्ध गर्ने प्रयासमा कांग्रेस लागेको छ । भाजपाको विपक्षमै रहेका आप अध्यक्ष केजरीवाललाई समेत कांग्रेसले आफूबाट टाढा नै राख्न खोजेको देखिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हालै गुजरातमा भएको निर्वाचनपछि कांग्रेस केजरीवालसँग झस्किएको हो ।

केजरीवाल नेतृत्वको आप पार्टी बलियो भएको ठाउँमा कांग्रेसलाई नै धक्का पुगिरहेको छ । नयाँदिल्ली र पञ्जाबमा आपले कांग्रेसकै सत्ता ढालेको हो । गुजरातमा पनि आप अगाडि आउँदा कांग्रेसलाई नै धक्का लागेको छ ।

दिल्लीमा प्रचण्ड बहुमतसहित लगातार मुख्यमन्त्री बनिरहेका केजरीवाललाई आगामी लोकसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ ।

केजरीवाल आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवस्थामा कांग्रेससँग सहकार्य हुनसक्ने देखिँदैन । कांग्रेस नेतालाई प्रधानमन्त्री स्वीकार्ने दललाई मात्रै कांग्रेसले निम्तो दिएको देखिएको छ ।