काठमाडौं - मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको जानकारी दिएका छन् ।
यसअघि आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नाम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । प्रदेशसभा सचिवालय सचिव यादवले प्रदेशसभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयपछि भोली मङ्गलबार दिउँसो १ बजेका लागि बैठक सारिएको बताएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले पनि विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिएका छन् ।
गत बुधबार मुख्यमन्त्रीमा नियुक्त हुननुभएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएको थियो भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएको छ ।