काठमाडौँ - यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जानकारी दिए ।
एसपी केसीले कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यती एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । धेरै जलेको कारण ३ जनाको शव पहिचान गर्न समस्या भएको जानकारी दिए ।
दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ । सोमबार बिहानैदेखि पुनः सुरक्षाकर्मीहरुले पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोँचमा खोज तथा उद्धार सुरु गरेका छन् ।
दुर्घटनास्थलबाट ६७ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा लगिएको छ । एसपी केसीले एउटा शव खोँचमा देखिएको र सो शव निकाल्ने प्रयास भइरहेको जानकारी दिए ।
सोमबार बिहान सशस्त्र प्रहरी बलले ४ जनाको शव खोँचबाट निकालेको छ । खोज तथा उद्धारमा सशस्त्र प्रहरी बलको गोताखोर पनि परिचालन गरिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनामा परेका २३ जनाको सनाखत भएको छ ।