प्रदेश-१ को लगातार दोस्रो जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८८ दिन अगाडि
प्रदेश-१ को लगातार दोस्रो जित

काठमाडौं - इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर-१ ले लगातार दोस्रो जित निकालेको छ ।

सोमबार जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश-१ ले लगातार दोस्रो जित निकालेको हो ।

मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ९ ओभरमा झारिएको थियो । जसमा प्रदेश-१ ले लुम्बिनीलाई ६० रनको लक्ष्य दिएको थियो । लुम्बिनीले पुरै ९ ओभर खेल्दा ७ विकेट गुमाएर ५० रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन जोडिन । लुम्बिनीका अन्य ब्याट्सउमनले दोहोरो अंकको रन जोड्न सकेनन् । प्रदेश-१ का लागि संगीता राईले ३ विकेट लिईन् । सबनम राई,ज्योति दनुवार र रुबिना क्षेत्रीले एक एक विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रन जोडेको थियो ।प्रदेश-१ का काजल श्रेष्ठले २१ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १७ रन जोडिन । अप्सरी बेगमले १२ रन जोडिन । लुम्बिनीका कृतिका मरासिनी,सरस्वती पुन र बिभष्णा बीसीले १/१ विकेट लिईन् ।

यस जितसँगै प्रदेश-१ ले २ खेलमा ४ अंक जोडेको छ । प्रदेश-१ समूह 'बी' को शीर्ष स्थानमा रहेको छ । लुम्बिनीको यो पहिलो हार हो । लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ ।

प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् ।