काठमाडौँ - कांग्रेस बागमती प्रदेश संसदीय दललाई नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन निर्देशन दिने निर्णय गरेको छ ।
मंगलबार बिहान हेटौँडामा बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताएका छन् ।
बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिंदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
१ सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ। सत्ता साझेदार दलसँग बहुमत रहेको छ। बैठकले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा निर्वाचित बहादुर सिंह लामालाई बधाई दिने निर्णय गरेको छ ।
त्यस्तै माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको प्लेन दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली अर्पण गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै नेपालको हवाई क्षेत्रमा हुने गरेका दुर्घटना न्यूनीकरण गरी शून्यमा झार्ने व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले बताएका छन् ।