लगातार तेस्रो जितपछि प्रदेश-१ सेमिफाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
लगातार तेस्रो जितपछि प्रदेश-१ सेमिफाइनलमा

काठमाडौं -  इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर-१ ले लगातार तेस्रो जित निकालेको छ ।

मंगलबार जनता क्रिकेट पार्क क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटको जित निकाल्दै प्रदेश-१ ले लगातार तेस्रो जित निकालेको हो ।

यस जितसँगै प्रदेश-१ ले सेमिफाइनलमा स्थान बनाएको छ । कर्णालीको यो लगातार तेस्रो हार हो । मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश-१ लाई ४० रनको लक्ष्य दिएको थियो ।

कर्णालीले दिएको लक्ष्य प्रदेश-१ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गर्यो । प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित २२ रन जोडिन । काजल श्रेष्ठ १३ रनमा अविजित रहिन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो । कर्णालीका रमा बुढाथोकीले १८ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

प्रदेश-१ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १/१ विकेट हात पारिन् । जितसँगै प्रदेश-१ ले ३ खेलमा ६ अंक जोडेको छ । प्रदेश-१ समूह 'बी' को शीर्ष स्थानमा रहेको छ । कर्णाली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।