काठमाडौं - ट्विटरको आम्दानीमा ४०% गिरावट आएको छ । ट्विटरको आम्दानीको मुख्य स्रोत विज्ञापन हो ।
तर पछिल्लो समय बढ्दो मुद्रास्फीति र ब्याजदरमा वृद्धि हुँदा विज्ञापनदाताहरुले विज्ञापन कटौती गरेका कारण ट्विटरको आम्दानीमा गिरवाट आएको हो । मस्कले ट्विटरको अधिग्रहणपछि भारी छुट दिएर विज्ञापनदाताहरूलाई फर्काउन सफल पनि भएका थिए । तर पनि यसले कम्पनीको आम्दानी बढाउन सकेन ।
यता, एलोन मस्कले कम्पनी खरिद गर्दा लिएको १३ अर्ब डलर बराबरको ऋणको ब्याज भुक्तानी पनि यही जनवरीमा गर्नुपर्ने हुन्छ । तर कम्पनीको आम्दानीमा आएको गिरावटका कारण उनलाई ब्याज भुक्तानी गर्न पनि कठिन हुने देखिएको छ । ट्विटरको आम्दानीमा आएको गिरावट हेर्दा ब्लू सब्सक्रिप्शनले पनि यसलाई नाफा दिन असफल भएको छ । ट्विटरले यसको प्रिमियम सदस्यताको लागि प्रतिमहिना ८ डलर चार्ज गर्दछ ।
एलोन मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेका थिए । उनले कम्पनीको स्वामित्व आफ्नो हातमा लिए लगत्तै खर्च कम गर्न कर्मचारी कटौती समेत गरेका थिए । साथै, अहिले यस कम्पनीमा प्रयोग हुँदै आएका सयौं वस्तुहरू अनलाइन लिलामीको लागि राखिएको अन्तराष्ट्रिय सञ्चार माध्यहरुले जनाएका छन् ।