काठमाडाै - राष्ट्रिय जनमोर्चाका नेता एवं सांसद चित्रबहादुर केसीले सरकार बन्नुअगाडि ठूला कुरा गर्ने गृहमन्त्री रवि लामिछानेसहितको रेकर्ड शुरूबाटै राम्रो नदेखिएको बताएका छन् ।
सभामुख चुनावको प्रक्रियामा भएको छलफलमा भाग लिँदै केसीले इमान, जमान र नागरिकसँग गरिएका वाचा सबैले बेवास्ता गरेको बताएका हुन् ।
‘सरकार बन्नुभन्दा अगाडि ठूला कुरा गरेकाहरूको रेकर्ड कस्तो आएको छ ? सबै नालायक भए, अब नयाँ आउनुपर्छ भन्ने मुलुकभर हल्ला गरे, तर नयाँ आउनेबित्तिकै देखिहालियो कस्तो गर्दैछन् । गृहमन्त्रीको के छ रेकर्ड ? शहरी विकास मन्त्रीको रेकर्ड कस्तो छ ? हेर्नु त,’ उनले भने ।
केसीले थपे, ‘इमान/जमान, जनतासँग कबोल गरिएका कुरा पालना गर्नुनपर्ने, सत्ताका लागि जोसँग पनि सामेल हुने देखियो । पहिलेको भन्दा यसपालिको संसद्को बनावट, सरकार बनेको प्रक्रिया र सरकारमा सामेल भएकाहरूले देखाउँछन्, हामी झन् अप्ठ्यारोमा गएका छौं । (व्यवस्था) परिवर्तन गर्यौं, तर संस्थागत गर्न सकेनौं ।’