क्याप्टेन लामा र निर्देशक चाम्स सम्मानित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८५ दिन अगाडि
क्याप्टेन लामा र निर्देशक चाम्स सम्मानित

वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान-२०७९’बाट सम्मान् गरिएकाे छ ।

समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको बताइएकाे छ ।

बिहीबार सुनसरीको झुम्कामा अवस्थित म्याजिक सिनेमा हलमा आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले आयोजना गरेकाे  कार्यक्रमा उक्त सम्मान गरिएको हो । यस्तै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्री लगायतलाई पनि सम्मान गरिएको थियो ।

‘आदिवासी जनजाती चलचित्रको महत्त्व र आवस्यकता सम्बन्धि अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारण सभा’ नाम दिइएको कार्यक्रममा महासंघका प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ संसद इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो । चलचित्र विकास बोर्ड सह–आयोजक रहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिले आ–आफ्नो झाकी, भाषीक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद अध्यक्ष पुर्खाजीत राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, सङ्गीत साधाना इटहरीका महासचिव राजु केसी लगायतका ब्याक्तित्वहरूको उपस्थिति थियो ।