प्रशासनमा सेवा टाईमकार्ड लागू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
प्रशासनमा सेवा टाईमकार्ड लागू

कपिलवस्तु - जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवाग्राहीलाई छिटोछरितो सेवा दिन सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ ।

प्रशासनले सेवाग्राहीलाई सहज, छिटो छरितो तथा झन्झटरहित बनाउन सेवा प्रवाहमा टाइम कार्ड लागू गरिएको जनाएको छ ।

माघ ९ गते लागू हुने गरी जारी गरिएको टाइम कार्डले सेवा प्रवाहमा समसामयिक एवं प्रभावकारी बनाउन सकिने जिल्ला प्रशासन कार्यालयको विश्वास छ । प्रशासनका अनुसार नयाँ नागरिकताका प्राप्तिका लागि दिउँसो १२ बजे प्रमाण पुर्याएर पेस हुन आएका निवेदकलाई १ बजेभित्र र दिउँसो १२ देखि ३ बजे भित्र पेस हुन आएका निवेदकलाई अपराह्न ४ बजे नागरिकता दिइने छ ।

नागरिकताको प्रतिलिपिका लागि दुई घण्टा भित्रै सेवा दिइने छ । प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले ई–पासपोर्ट टोकन प्रणाली अनुसार सार्वजनिक बिदा र शाखाको कार्य बोझ बाहेक प्रत्येक दिन ३ बजे देखि ४ बजेसम्म सेवा लिन सकिने बताएका छन् ।

तत्कालीन राहत वितरण आधा घण्टा भित्र हुने दाबी गरेको प्रशासनले संस्था नवीकरण, विभिन्न सिफारिस प्रमाणित, हातहतियार नवीकरण तथा प्रशासनिक कार्यहरू, नाबालक प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र प्रमाण पुगेकालाई एक घण्टा भित्रै सेवा दिनेछ ।

साथै जिल्ला प्रशासनले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई सेवा लिन लाइनमा बस्न नपर्ने समेत विज्ञप्ति मार्फत जानकारी दिएको छ ।