गण्डकीको मन्त्रिपरिषदले पायो पूर्णता, जिम्मेवारी पनि बाँडफाँट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८१ दिन अगाडि
गण्डकीको मन्त्रिपरिषदले  पायो पूर्णता, जिम्मेवारी पनि बाँडफाँट

कास्की -गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि अधिकारीले जिम्मेवारी बाँडफाँटसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। 

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पुस २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। सोही दिन एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका अधिकारीले जिम्मेवारी भने दिएका थिएनन्। 

गण्डकीमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री अधिकारीले माओवादीलाई २ र एमालेलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेका छन्। राप्रपालाई एउटा मन्त्रालय दिएका छन्। 

सोही सहमति अनुसार माओवादीबाट रेशम जुग्जाली, एमालेबाट रोशन गाहा मगर र बेदबहादुुर गुरूङ ‘श्याम’ मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख गुरूङले मंगलबार साँझ सपथ खुवाउँदैछन्। 

मन्त्रिपरिषदले पूर्णता पाएसँगै मन्त्रीलाई जिम्मेवारी बाँडफाँटमा पनि सहमति जुटेको माओवादी मन्त्री चुमानले बताए।

उनका अनुसार चुमानले भौतिक पूर्वाधार विकास मन्त्रालय, जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण, राप्रपाका गुरूङले सामाजिक विकास मन्त्रालय, एमालेका रोशन गाहा मगरले आर्थिक मामिला, बेदबहादुर गुरूङले कृषि तथा ऊर्जा र सीता सुन्दासले आन्तरिक मामिला मन्त्रालय पाएका छन्।