सम्पदा र सभ्यताको संरक्षण गर्नु युवापुस्ताको दायित्व- बालेन्द्र साह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८२ दिन अगाडि
सम्पदा र सभ्यताको संरक्षण गर्नु युवापुस्ताको दायित्व- बालेन्द्र साह

काठमाडौँ -काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताए ।

उनले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरुको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरु लोप हुँदै जाने बताए । उनले काठमाडौं उपत्यकावासीहरुले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गरे । उनले भने, ‘हाम्रो सभ्यता र सम्पदा जोगाउनका लागि हाम्रो पुस्ता अन्तिम हो की जस्तो लाग्छ । हामीले अब जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने बिस्तारै अब आउने दिनहरुमा अझै गाह्रो हुनसक्छ ।

काठमाडौं उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजाहरुको सभ्यता, सम्पदा जोगाउने कार्यमा महानगरले सहयोग गर्नेछ । हामीले सभ्यता जोगाउनुपर्ने दायित्व र कर्तव्य छ ।’
महानगरपालिका प्रमुख साहले सभ्यता र संस्कृतिको जगेर्ना गर्नका लागि महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व र कर्तव्य भएको बताए ।