काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामछिाने नागकिरता विवादमा परेर पद गुमाएपछि नयाँ गृहमन्त्रीको खोजी सुरु भएको छ । सर्वोच्चले अनागरिक ठहरसँगै उपप्रधान तथा गृहमन्त्री लामिछानेले शुक्रबार नै राजीनामा दिएका थिए । यस्तोमा देशभरको आन्तरिक सुरक्षा प्रशासन हाँक्ने नयाँ गृहमन्त्रीको खोजी भइरहेको छ । रविले राजीनामा दिए पनि रास्वपाले गृहमन्त्रालय आफूहरुले नै पाउनुपर्ने अडान लिएको छ ।
रविको राजीनामापछि अहिले गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । गत पुस १० गते सत्ता साझेदारबीच भागबन्डाका क्रममा रविले गृह नपाएसम्म सरकारमै नजाने अडान लिएका थिए । गृह नदिए सरकारमै नजाने रविको अडानपछि ओली र प्रचण्डको सल्लाहमा उक्त जिम्मेवारी दिइएको थियो । तर रविले पद गुमाएपछि प्रधानमन्त्री प्रचण्डले गृह कसलाई दिने भन्ने निर्णयमा पुगेका छैनन् । २०५० मा लिएको नागरिकता लिन निस्सा दिएपछि आइतवार जिल्ला प्रशासन काठमाडौंबाट रविले नेपाली नागरिकको हैसियता प्राप्त गरिसकेक छन् । यस्तोमा रास्वपा संसदीय दलको नेताको पद पनि गुमाएका रवि ६ महिनाका लागि गृहमन्त्रीमा फर्किन सक्ने बाटो यथावत छ ।
तर उनलाई गृहमा फर्काएर ६ महिनाभित्र उपनिर्वाचनबाट सांसदमा नआए उनको संविधानत: फेरि जानेछ । यो विवादबीच ओली र प्रचण्ड भावी गृहमन्त्रीको टुंगो गर्न जुटेका हुन् । यसअघि सरकारको नेतृत्वकर्ता दलले नै गृहमन्त्रालय लिने चलन थियो । तर सत्ता भागबन्डा मिलाउँदा यस पटक गृह रविले लिएका थिए । तर यस पटक गृह आफैं राख्ने योजनामा प्रधानमन्त्री छन् । उता ओलीलाई भने गृह रास्वपालाई नै दिनुपर्ने दबाब छ । यो तनावबीच ओलीले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्दैछन् । यो भेटमा यही महिना अन्तिम साता हुने भनिएको राष्ट्रपतिको निर्वाचनबारे पनि कुरा हुने बताइएको छ । माओवादीले गत पुस १० गते एमालेसँग भएको सहमतिबाहिर गएर राष्ट्रिय सहमतिको व्यक्ति राष्ट्रपतिमा खोज्नुपर्ने बताइरहेको छ ।