गणतन्त्र शहीदहरूको बलिदानले सम्भव भएको हो : प्रचण्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११७८ दिन अगाडि
गणतन्त्र शहीदहरूको बलिदानले सम्भव भएको हो : प्रचण्ड

 काठमाडाै‌- प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन्।

सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शहीदले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए। उनले देश र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताए।उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन शहीदहरू प्रेरणाको स्रोत भएको बताए। उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सिमित नभइ  शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए।

आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौं । यसको पछाडि महान शहीदको त्याग र बलिदान नै प्रमुख रहेको छ। देश र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर हुन्, अजर हुन्छन्। उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन्’, उनले भने, ‘अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र जनताको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको स्रोतको रूपमा भूमिका खेलिरहेका हुन्छौं।’

प्रधानमन्त्री दाहालले आज माघ १६ गते शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गरेका थिए। ‘माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्छौं। स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो । म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु,’ उनले भने।