विपिन र स्वस्तिमालाई लिएर ‘पशुपति प्रसाद २ : भष्मे डन’ बन्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८७ दिन अगाडि
विपिन र स्वस्तिमालाई लिएर ‘पशुपति प्रसाद २ : भष्मे डन’ बन्दै

काठमाडाै‌- चलचित्र ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षपछि यसको सिक्वेल निर्माणको घोषणा गरिएको छ ।

 

आइतवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २  भष्मे डन’को निर्माण घोषणा गरिएको हो ।  ०७२ सालमा रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको थियो ।  फागुनदेखि छायाँकनमा जाने ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी वर्षको दशैँको फूलपातीमा प्रदर्शनमा आउने समेत निर्माण टिमले घोषणा गरेको छ । 

दीपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रमा ‘पशुपति प्रसाद’मा भष्मे डनको भूमिका निर्वाह गरेका विपिन कार्कीको मुख्य भूमिका रहनेछ । उनको जोडीका रुपमा अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहनेछ ।   त्यस्तै, सौगात मल्ल, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको समेत चलचित्रमा अभिनय रहनेछ । 

खगेन्द्र लामिछाने चलचित्रको लेखक एवं निर्माताका रुपमा छन् । टुकी आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज/सुभाष भुषालको संगीत रहनेछ ।  तर्क संगत र अर्थपूर्ण तरिकाले ‘पशुपति प्रसाद’को सिक्वेल निर्माण गर्न लागिएको निर्माता एवं निर्देशकले बताएका छन् । ‘पशुपति प्रसाद २ : भष्मे डन’को निर्माण घोषणा कार्यक्रममा ‘पशुपति प्रसाद’ प्रदर्शनको ७ वर्ष पुगेको अवसरमा केक काटेर खुसियाली समेत साटिएको थियो ।