पोखरा - पोखरा-१३ काहूँखोलामा आइतबार आत्मदाह गर्न लागेको व्यक्तिलाई बचाउन प्रयासमा जलेकी महिलाको निधन भएको छ ।
आफ्नो घरमा डेरा गरि बस्ने व्यक्तिले आत्मदाह गर्न लागेको देखेर बचाउन गएकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे ।
सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् । करिब ९० प्रतिशत जलेकी उनको उपचारकै क्रममा मृत्यु भएको हो । उता आत्मदाह गर्ने क्षेत्रीको भने उपचार भइरहेको छ।